काठमाडौँ :- गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।
दुर्घटनामा चार जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मृतक मनकला अर्यालका नाति छ वर्षीय अनुभव गिरी र पैदलयात्री मालिका गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन्। गिरीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।




