काठमाडौँ :- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने स्पष्ट दाबी गरेका छन्। उनले विधानअनुसार पार्टीका गतिविधि सञ्चालन भए कांग्रेस एकढिक्का रहने र फुटको कुनै सम्भावना नरहने बताएका हुन्।
शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका शर्माले पत्रकारसँग कुरा गर्दै पार्टीभित्रको एकता मजबुत रहेको बताए। उनले कार्यकर्तालाई पार्टी फुट्छ भन्ने आशंका नगर्न आग्रहसमेत गरे।
महामन्त्री शर्माका अनुसार कांग्रेसभित्रको संघर्ष नेतृत्वका लागि नभई नीतिगत विषयमा केन्द्रित छ। उनले निर्वाचनअघि राष्ट्रिय संकल्प तय गर्ने वा आवश्यक परे विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विषयमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने जानकारी दिए।
उनले पार्टीलाई विधानको मार्गदर्शनमा अघि बढाइने दोहोर्याउँदै कांग्रेस एकताबद्ध रूपमा आगामी राजनीतिक यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।




