काठमाडौँ :- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीच भएको वार्ता सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीबीच भएको वार्तामा सम्भव हुने मागहरू पूरा गर्न सरकार तयार रहेको मन्त्री खरेलले जानकारी दिए।
उनका अनुसार संविधान र कानुनको दायराभित्र रहेर वर्तमान सरकार तथा आगामी सरकारले पूरा गर्न सक्ने मागहरूबारे विस्तृत छलफल भएको छ। मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएको उनले बताए।
“वार्ता सकारात्मक रह्यो। सरकारको दायरा र जिम्मेवारीभित्र रहेर पूरा गर्न सकिने मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध छ,” मन्त्री खरेलले भने।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले अभियानका मागहरू गम्भीर चासोका साथ सुनेकी थिइन् भने संयोजक प्रसाईंले सरकारको ध्यान अभियानका मागतर्फ आकर्षित गराएको जनाइएको छ।



