आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा समावेशी समूह (क्लष्टर) मिलेको वा नमिलेकोलगायत विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको छ। उहाँले बुधबार १२ राजनीतिक दलका प्रतिनिधिसँग छलफल सम्पन्न भएको र आज पनि थप १२ दलसँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।
आयोगमा यही पुस १३ र १४ गते ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ बन्दसूची पेस गरेका थिए। तीमध्ये २२ दलले मात्रै प्रतिनिधिसभाका ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन्। औसतमा प्रति निर्वाचन चिह्न ६० दलले उम्मेदवारी दिएको देखिएको छ भने न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ। यस्तै, एकल निर्वाचन चिह्न लिएका दल १० रहेको आयोगले जनाएको छ।
यद्यपि, यस प्रणालीमा उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिएका थिए, तर बन्दसूची पेस गर्ने दलको सङ्ख्या ६४ मै सीमित भएको छ। आयोगले पेस भएको विवरण मिलाउन यही पुस २१ गतेदेखि २७ गतेसम्म दललाई समय दिने जनाएको छ।
दलबाट सच्याएर पेस गरिएका बन्दसूचीको जाँच यही पुस २८ गतेदेखि आगामी माघ ३ गतेसम्म गरिने र आगामी माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो।
समानुपातिक प्रणालीको निर्वाचन व्यवस्थापनका लागि आयोगअन्तर्गत स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि तथा कानुनी क्षेत्रका विज्ञहरू कार्यरत रहेका छन्।




