नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपछि सवारीसाधन आवागमन सुरु भएको उहाँले जानकारी दिनुभयो। पुलको भारवहन क्षमता ५५ टन रहेको छ। केरूङ नाका खुलेसँगै चिनियाँ सामान आयातका लागि आठवटा नेपाली कन्टेनर मितेरी पुल पार गर्दै चीनतर्फ प्रस्थान गरिसकेका छन् भने थप सवारीसाधन तयारी अवस्थामा रहेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताउनुभयो।
नाका बन्द रहँदा चालु आर्थिक वर्षको हालसम्म सामान आयातबाट सङ्कलन हुने राजस्व गत वर्षको तुलनामा २२ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो।
यसैबीच, स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक जीर्ण अवस्थामा रहेकाले मालवाहक सवारीसाधन सञ्चालनमा समस्या र दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ। सवारी चालक रसुवा यार्साका सुकु तामाङका अनुसार सडकका विभिन्न स्थानमा कटान भएपछि ट्र्याक मात्र खुलेको र टेवा पर्खाल पर्याप्त रूपमा मजबुत नबनाइएकाले जोखिम कायमै रहेको छ।
गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान भएको थियो। गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि स्थायी सुधार नहुँदा सुरक्षित आवागमनका लागि थप काम आवश्यक रहेको सरोकारवालाले बताएका छन्।




