काठमाडौँ :- नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र तीव्र ध्रुवीकरणको घेराभित्र छ। सत्ता र विपक्षबीचको निरन्तर टकराव, दलभित्रकै आन्तरिक विवाद र समाजमा बढ्दो असहिष्णुताले राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ।
आठ वर्षको भारत निर्वासनपछि बिपी कोइराला स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। बिपीको नेपाल आगमन कुनै आकस्मिक निर्णय नभई तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको गहिरो मूल्याङ्कनपछि लिइएको रणनीतिगत कदम थियो भन्ने बुझाइ व्यापक छ। मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी स्वदेश फर्कनु भएपछि नेपालको आन्तरिक राजनीतिले नयाँ दिशा लिएको तथ्य निर्विवाद छ।
सन् १९६८ मा भारत जानुभएका बिपी ३० डिसेम्बर १९७६ मा नेपाल फर्कनुभएको थियो। स्वदेश फर्किँदै गर्दा उहाँले घोषणा गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति पञ्चायती व्यवस्थासँगको सैद्धान्तिक सहकार्य नभई राष्ट्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षा गर्ने दूरदर्शी राजनीतिक सोच थियो। बिपीले सधैँ लोकतन्त्र, मानवअधिकार र राष्ट्रिय स्वाधीनतालाई मेलमिलापको केन्द्रमा राख्नुभयो। उहाँको विश्वास थियो—राष्ट्र कमजोर भयो भने लोकतन्त्र टिक्दैन, र लोकतन्त्र बिना नागरिक स्वतन्त्रता सम्भव हुँदैन।
त्यस समय नेपालको राजनीतिक परिवेश अत्यन्त संवेदनशील थियो। राजा महेन्द्रको अवसानपछि राजा वीरेन्द्रको उदय, क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति, वामपन्थी प्रभावको विस्तार, विद्यार्थी आन्दोलन र कांग्रेसभित्रै सशस्त्र संघर्षको औचित्यमाथि उठेका प्रश्नहरूले परिस्थिति जटिल बनेको थियो। यस्तै अवस्थामा बिपीको नेपाल आगमनले कमजोर बन्दै गएको प्रजातान्त्रिक आन्दोलनमा नयाँ आशा र ऊर्जा भरेको थियो।
बिपीले राजनीतिक द्वन्द्वको समाधान संवाद, सहअस्तित्व र सहमतिबाट मात्र सम्भव हुने विश्वास राख्नुभयो। मेलमिलाप अन्यायसँग सम्झौता होइन, राष्ट्रिय हितका सवालमा सबै शक्तिलाई एउटै मञ्चमा ल्याउने प्रयास हो भन्ने उहाँको दृष्टिकोण आज पनि सान्दर्भिक छ। उहाँको रणनीति राजासँग सम्बन्ध सुधार गर्दै प्रजातान्त्रिक आन्दोलनलाई नयाँ चरणमा प्रवेश गराउने, वामपन्थी अतिवाद रोक्ने, कांग्रेसलाई पुनः सशक्त बनाउने र विदेशी हस्तक्षेप न्यून गर्नेतर्फ केन्द्रित रहेको देखिन्छ।
आज नेपालमा राजतन्त्र छैन, राजनीतिक संरचना बद्लिएको छ र नयाँ विचार तथा पात्रहरूको उदय भएको छ। तर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि देशले राजनीतिक स्थायित्व हासिल गर्न सकेको छैन। सरकार गठन–विघटन, सत्तामुखी प्रतिस्पर्धा, दलगत स्वार्थ र सामाजिक सञ्जालमार्फत फैलिने घृणात्मक भाषणले समाजलाई अझ विभाजित बनाइरहेको छ।
यस्तो अवस्थामा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति इतिहासको अध्यायमा सीमित नभई वर्तमान र भविष्यका लागि मार्गदर्शक सिद्धान्तका रूपमा पुनः आत्मसात् गर्न आवश्यक देखिन्छ। विभाजनकारी राजनीति त्याग्दै साझा राष्ट्रिय एजेन्डामा सहमति खोज्ने, संवाद र सहिष्णुताको संस्कृति विकास गर्ने र सहकार्यमार्फत राजनीतिक स्थायित्व र समृद्धिको बाटो खोल्ने आजको मुख्य आवश्यकता हो। बिपीको मेलमिलापको भावना अवलम्बन गर्न सके मात्र नेपालले दीर्घकालीन स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सक्छ।



