नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी नयाँ संसद् गठन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
संयोजक दाहालले पछिल्ला राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको बताए। उनले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमजोरी पहिचान गरी सुधारतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए।
निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राख्दै दाहालले जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिक एकता र सहमतितर्फ जाने वातावरण क्रमशः बन्न थालेको बताए।
उनले वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको दाबी गरे। अन्योलमा अल्झिनुभन्दा अब सबै शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन नगरी विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै उनले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगारी सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धि सम्भव हुने धारणा व्यक्त गरे।



