काठमाडौँ :- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दलले आफ्नो बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। बहादुरभवनस्थित आयोगमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा पुस १३ र १४ गते बन्दसूची बुझाउने कार्यतालिका तय गरिएको थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार राति अबेरदेखि आज बिहानसम्म गरी कुल ६४ दलले बन्दसूची दर्ता गराएका हुन्। समानुपातिकतर्फ ११० सिटका लागि ६४ दलका ३ हजार ४२४ उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरिएको छ। तीमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्नबाट र १० दलले साझा निर्वाचन चिह्नमार्फत उम्मेदवारी दिएका छन्।
कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले बन्दसूची बुझाउने प्रक्रिया रातिसम्म जारी रहेको आयोगले जनाएको छ। यस प्रणालीमा उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिएका थिए।
प्राप्त बन्दसूचीको छानबिन पुस १५ देखि २० गतेसम्म गरिनेछ। छानबिनपछि सच्याउनुपर्ने वा अपुग कागजात भए पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिइनेछ। त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म मिलाइएका सूचीको पुनः जाँच हुनेछ। आयोगका अनुसार अन्तिम बन्दसूची आगामी माघ २० गते प्रकाशन गरिनेछ।



