काठमाडौँ :- ताप्लेजुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल मतदाताको संख्या ९० हजार ३ सय २७ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार जिल्लामा ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन्। पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या ६ हजार २ सय ४३ ले कम छ।
पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका छन्। विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए।
नौवटा स्थानीय तह रहेको ताप्लेजुङमा सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० रहेका छन् भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका छन्।
अन्य स्थानीय तहहरूमा सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१, आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय १, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ५६ मतदाता रहेका छन्।
आगामी निर्वाचनका लागि जिल्लाभर ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालले जानकारी दिए।



