काठमाडौँ :- बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेनजी प्रदर्शनका क्रममा भागेकामध्ये ४२ जनालाई पक्राउ गरिएको छ भने १० जना अन्य जिल्ला कारागारमा आफैँ हाजिर भएकालाई फिर्ता ल्याइएको नौबस्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिनुभयो।
उहाँका अनुसार अझै ९३ जना कैदी कारागारमा फर्किन बाँकी छन् भने पाँच जनालाई देशका विभिन्न कारागारबाट फिर्ता ल्याइएको छ। तत्कालीन अवस्थामा फरार कैदीहरूलाई नजिकको सरकारी कार्यालयमा हाजिर हुन निर्देशन दिइए पनि हाल कारागार फर्किने क्रम रोकिएको छ। खुला सिमानाको फाइदा उठाउँदै उनीहरू भारत गएको हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, नौबस्ता बाल सुधारगृहबाट फरार भएका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ। सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग झडप गरेर भागेकामध्ये हालसम्म ३९ जना मात्र नियन्त्रणमा आएका छन् र बाँकीको खोजी जारी छ।
फरार भएका बालबन्दीसहित सबै कैदीबन्दीलाई गत असोज २० गतेसम्म कारागार तथा सुधारगृहमा फर्किन समयसीमा दिइएको थियो। तर नौबस्ता बाल सुधारगृहबाट अझै ३९ जना बालबन्दी पक्राउ नपरेको जनाइएको छ।
जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधारगृहबाट फरार भएका ११५ बालबन्दीमध्ये ५८ जनालाई पक्राउ गरिएको छ। सुधारगृह प्रमुख किशोर शर्माका अनुसार केहीलाई प्रहरीले पक्राउ गरेको, केही अभिभावकमार्फत ल्याइएको र केहीले आफैँ आत्मसमर्पण गरेका छन्। सो सुधारगृहबाट अझै ५७ जना फरार रहेका छन्।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले अधिकांश फरार कैदीबन्दी नेपाल बाहिर रहेको आशंका व्यक्त गर्दै उनीहरू भारतमा लुकेको हुन सक्ने बताउनुभयो। फरारहरूको खोजीका लागि प्रहरी परिचालन गर्नुका साथै घरघरमा पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो।
यसअघि नौबस्ता बाल सुधारगृहबाट भाग्ने क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।



