काठमाडौँ :- नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान गर्न माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ।
कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आज अध्यक्ष दाहाललाई भेटी कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै राष्ट्रियसभा बैठक तत्काल बोलाउन आग्रह गरेको हो। भेटमा राष्ट्रियसभा सदस्यहरू कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी थिए।
कांग्रेस संसदीय दलले यही पुस १० गते बसेको बैठकमा देशमा उत्पन्न राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन गरिएको निष्कर्ष निकाल्दै राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो।
कांग्रेसका अनुसार जनताको आवाज उठाउने सार्वभौम सङ्घीय संसद्अन्तर्गत हाल राष्ट्रियसभा मात्र कायम रहेको अवस्था भएकाले संसदीय अभ्यास निरन्तरता दिन राष्ट्रियसभाको बैठक बस्न अपरिहार्य रहेको छ।



