सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सरकारको स्पष्ट प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक दलहरूको सक्रियताका कारण निर्वाचन सुनिश्चित भएको उल्लेख गर्नुभयो।
मन्त्री खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बनेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको र यस कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
त्यस अवसरमा उहाँले आमसञ्चार माध्यमको भूमिकाप्रति पनि ध्यानाकर्षण गराउँदै जनतालाई सही र सुसूचित जानकारी प्रदान गर्ने जिम्मेवारी अझ गम्भीर बनेको उल्लेख गर्नुभयो। सकारात्मक सोचका साथ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीलाई उहाँले आग्रह गर्नुभयो।



