काठमाडौँ :- निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम सुरु गर्ने भएको छ। आयोगका अनुसार यही पुष १९ गतेदेखि माघ १८ गतेसम्म एक महिनाको अवधिमा अस्थायी मतदाता नामावलीमा समावेश हुन चाहने मतदाताको विवरण सङ्कलन गरिनेछ।
कार्यक्रमअनुसार सम्बन्धित निकायका प्रमुखले प्रमाणित गरेको मतदाताको विवरण प्रदेश वा जिल्लामा रहेका प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सहज बनाउन अस्थायी मतदाता नामावली सङ्कलन गर्न लागिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रकाशित गरेको विज्ञप्तिअनुसार, अन्तिम मतदाता नामावलीमा समावेश भएका सरकारी वा सरकारी स्वामित्वका कार्यालयमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, साथै सरकारी निकायबाट सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिहरू अस्थायी मतदाता नामावलीमा समेटिनेछन्।



