काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको उल्लेख गरेका छन् ।
माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना दिँदै उनले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन नसक्दैने माओ बिर्सिनै नहुने सत्य भएको उल्लेख गरे । माओको विचारमा स्पष्टता, व्यवहारमा एकता र सङ्घर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ रहेको बावी गरे ।
उनले भनेका छन्, ‘आज विश्व साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको छ, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको छ र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको छ । यही परिस्थितिमा अध्यक्ष माओका विचार, उहाँले गर्नुभएको सङ्घर्ष, सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण र जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छन् । माओले देखाउनुभएको बाटो केवल इतिहासको विषय होइन, बरु राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पीडित वर्गलाई मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने आजको व्यावहारिक मार्गदर्शन समेत हो ।’



