काठमाडौँ :- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा जेनजी अभियान्तालगायत नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू आगामी निर्वाचनमा साझा शक्ति बनाएर जाने सम्भावनाबारे सक्रिय छलफलमा जुटेका छन्।
समानुपातिकतर्फको उम्मेदवारी मनोनयन दर्ता मिति नजिकिँदै जाँदा नयाँ दल तथा अभियान्ताहरूबीच भेटघाट, छलफल र बार्ता–संवाद तीव्र बन्दै गएको छ। पछिल्ला केही दिनयता भएका भेटघाटमा आशन्न निर्वाचनका लागि साझा एजेण्डा तय गर्ने, सिट बाँडफाँड, उम्मेदवार छनोट र चुनावी रणनीतिबारे प्रारम्भिक छलफल भइरहेको बताइएको छ।
भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाहमा सुधार तथा युवामुखी राजनीति मुख्य साझा एजेण्डाका रूपमा अगाडि सार्ने तयारी भइरहेको जनाइएको छ। एकीकृत शक्तिका रूपमा निर्वाचनमा जाने विषयमा अझै औपचारिक सहमति नभए पनि मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज दिनभर संवाद भएको स्रोतले जनाएको छ।
ललितपुरमा भएको उक्त छलफलमा जेनजी अभियान्तासहित अन्य वैकल्पिक तथा नयाँ भनिएका राजनीतिक शक्तिका प्रतिनिधिहरूको पनि सहभागिता रहेको बताइएको छ। नयाँ दलका नेता र अभियान्ताबीच एकीकृत वैकल्पिक शक्तिको एजेण्डा र भावी नेतृत्वको विषयमा छलफल निरन्तर जारी रहेको जनाइएको छ।
नयाँ शक्तिहरू आ–आफ्नै रूपमा निर्वाचनमा जाँदा अपेक्षित परिणाम नआउने निष्कर्षसहित साझा मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको छ। वैकल्पिक शक्तिहरू एकजुट भएर निर्वाचनमा गए परम्परागत राजनीतिक दलहरूलाई आफ्नो मत जोगाइ राख्न कठिन हुने विश्लेषण गरिएको छ।



