काठमाडौँ :- अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पार्नुभएको छ।
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो। “सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाइसकेको छ, त्यसैले अफवाह र हल्लामा नपर्न म आम नागरिकलाई आग्रह गर्छु,” उहाँले भन्नुभयो।
अर्थमन्त्री खनालले वर्तमान सरकार जेनजी आन्दोलनपछिको परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारको प्रमुख दायित्व समयमै निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभयो। निर्वाचनपछि मुलुकको अर्थतन्त्र क्रमशः सुधार हुँदै लयमा फर्किने उहाँको विश्वास थियो।
कार्यक्रममा बोल्दै उहाँले उक्त अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै टुंगिएको जानकारी दिनुभयो। जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ बराबरको लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको दीर्घकालीन चाहना पूरा गरेको उहाँले उल्लेख गर्नुभयो।
दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलका कारण दशकौँदेखि अड्किएको काम सम्पन्न भएको भन्दै सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



