काठमाडौँ :- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा एमाले रहेको स्पष्ट पार्दै शान्तिपूर्ण वातावरणमा चुनाव भए त्यसको सामना गर्न र जनतामा गएर बहुमत ल्याउन पार्टी तयार रहेको बताउनुभएको छ।
नेकपा (एमाले)को हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले एमाले चुनावविरोधी नभए पनि देशभर त्रास र असुरक्षाको वातावरणमा निर्वाचन सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
उहाँले हाल चुनावको वातावरण नबनेको र त्यसको जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै वातावरण बने कुनै पनि परिस्थितिमा चुनाव सामना गर्न एमाले तयार रहेको बताउनुभयो। “हामीले हिंसा गर्ने कुरा गरेका छैनौँ। तर असुरक्षाका बीच हाम्रो सुरक्षा खोसिएको छ। कहिले जेनजीको नाममा आक्रमणको प्रयास भएको छ,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले युवाहरुलाई देशलाई पछाडि फर्काउने शक्तिबाट सचेत रहन आग्रह गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। युवाहरु गलत सोच, गलत सङ्गत र व्यक्तिगत स्वार्थको पछि नलाग्नुपर्ने उहाँको भनाइ थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै बोलाएको बैठकमा सहभागी भएको जानकारी दिँदै उहाँले त्यहाँ आफूहरुले चुनावको विरोध नगरेको तर प्रतिगमनविरोधी अडान स्पष्ट पारेको बताउनुभयो। प्रतिनिधिसभा छिटो पुनःस्थापना हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको अनुकूल वातावरण सरकारले निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा अध्यक्ष ओलीले घटनास्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थिति अनुसार सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षा गर्ने अधिकार पाएको भन्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउने प्रयास कानुनसम्मत नभएको स्पष्ट पार्नुभयो।



