काठमाडौँ :- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर गरिएको पुरक रिट निवेदनलाई मूल रिटहरूसँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको छ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले आज नेपाली कांग्रेसका आठ जना पूर्वसांसदले दायर गरेको पुरक रिटलाई एकैसाथ सुन्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेसका ५७ जना पूर्वसांसदले रिट निवेदन दायर गरेका थिए। त्यसपछि विघटित संसद्का कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले अघिल्लो निवेदनमा सरिक हुन पाउँ भन्दै पुरक रिट दायर गरेका हुन्।
यस मुद्दासँग सम्बन्धित यसअघि दायर भएका १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलगायतबाट लिखित जवाफ सर्वोच्च अदालतमा प्राप्त भइसकेको छ।



