काठमाडौं :- नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ।
आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद् बाट ऊर्जा बण्ड जारी गर्नको लागि प्राप्त स्वीकृतिका आधारमा यो निर्णय गरेको हो।
असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो। प्राधिकरणका स्रोतका अनुसार, यस रकमलाई ठुला जलविद्युत् आयोजना परियोजनामा लगानी गर्ने उद्देश्यले बण्ड निष्कासन गर्ने निर्णय गरिएको हो।
मन्त्रिपरिषद्ले ऊर्जा बण्ड निष्कासनको स्वीकृतिमा उठाइने रकम पुँजीगत खर्चमा प्रयोग गर्नुपर्ने स्पष्ट सर्त राखेको थियो, र प्राधिकरण बोर्डले उक्त सर्तअनुसार कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ।
ऊर्जा बण्डमार्फत उठाइने २० अर्ब रुपैयाँमा ८ अर्ब रुपैयाँ माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६३ मेगावाट), ५ अर्ब रुपैयाँ चैनपुर सेती जलविद्युत् आयोजना (२१० मेगावाट), ५ अर्ब रुपैयाँ तामाकोसी पाँचौँ जलविद्युत् आयोजना (९४.८ मेगावाट) र २ अर्ब रुपैयाँ माथिल्लो मोदी ‘ए’ (४२ मेगावाट) जलविद्युत् आयोजना निर्माणमा खर्च गर्ने योजना रहेको स्रोतले जानकारी दिएको छ।




