काठमाडौं :- राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअनुसार उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
पछिल्लो कानूनी प्रबन्धअनुसार, दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत हुने गरी उम्मेदवारको नाम सूचीकृत गर्नुपर्नेछ।
बन्द सूचीमा समावेशी समूहको प्रत्येक वर्गबाट कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ। यदि कूल ५० प्रतिशत सिटको संख्या दशमलवमा आउँछ भने, सोभन्दा माथिको पूर्ण संख्यामा महिलाको नाम समावेश गर्नुपर्नेछ।
यसका अतिरिक्त, उम्मेदवारको नाम सूचीकृत गर्दा कम्तीमा ४.३ प्रतिशत पिछडिएका क्षेत्रका उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ। अपांगता भएका व्यक्तिहरूको नाम पनि बन्द सूचीमा समावेश गर्नुपर्नेछ। उम्मेदवारले नेपालका नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम नामावलीमा समावेश भएको, २५ वर्ष उमेर पूरा गरेको, संघीय कानूनी अयोग्यता नभएको र कुनै लाभको पदमा बहाल नभएको हुनुपर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्न पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समयसीमा तोकिएको छ।



