काठमाडौँ :- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो हकप्रद साधारण शेयर निष्काशनको लागि नेपाल लाइफ क्यापिटललाई निष्काशन र विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
कम्पनीले ७५ करोड ६० लाख रुपैयाँको चुक्ता पुँजीमा १:०.६ को अनुपातमा ४५ लाख ३६ हजार कित्ता नयाँ साधारण शेयर जारी गर्नेछ। यसका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ४५ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने योजना बनाइएको छ।
सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरे।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रमा व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताबीच संस्थागत मूल्य शृंखला व्यवस्थापन गर्दै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। यसले कृषकहरूको लागि उत्पादन साधन उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगको विकास र उपभोक्तालाई गुणस्तरीय कृषि उत्पादन उपलब्ध गराउँदैछ।
नेपाल लाइफ क्यापिटल लिमिटेड नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो र यसले मर्चेन्ट बैंकिङ सेवा, धितोपत्र प्रबंधन, र शेयर निष्काशन तथा विक्री प्रबन्धनमा विशेषज्ञता राख्दछ।



