काठमाडौँ :- बैतडीमा मिनि ट्रक र अल्टो कार एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ स्थित हिरापुर नजिकै आज बिहान करिब १० बजेतिर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो कार पाटनबाट धनगढीतर्फ जाँदै गर्दा घुम्तीमा ओभरटेक गर्ने क्रममा ठोक्किएका हुन्।
दुर्घटनामा बझाङको खप्तडछान्ना गाउँपालिका–२ का ४२ वर्षीय देवेन्द्र थापा, ४० वर्षीया गीताकुमारी खड्का, ३७ वर्षीया दिपेश्वरी हमाल तथा कञ्चनपुरको बेदकोट नगरपालिका–का ३८ वर्षीय केशवराज जोशी घाइते भएका छन्।
दुर्घटनापछि अल्टो कार सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको अवस्था सामान्य रहेको र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



