काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गरेको छ। पार्टीले कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि लामिछाने पुनः पार्टीको मुख्य जिम्मेवारीमा फर्किने स्पष्ट पारेको छ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज जारी गरेको विज्ञप्तिमा रास्वपा सधैँ विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गरेका छन्। अदालतको आदेशलाई सम्मान गर्दै पार्टीले न्याय प्रणालीप्रति आफ्नो विश्वास पुनः पुष्टि गरेको उनको भनाइ छ।
विज्ञप्तिमा अर्यालले भनेका छन्, “उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ। कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएसँगै सभापति लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुनेछ।”



