काठमाडौँ :- इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको छ। बढ्दो आपराधिक हिंसाबाट प्रभावित ग्वायाकिलमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविधि तीव्र बन्दै जाँदा यो घटना भएको हो।
३३ वर्षीय पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा सहभागी भएका थिए। सन् २०२२ मा ब्राजिलको क्लब फ्लुमिनेन्सबाट व्यावसायिक फुटबल खेलेका उनी कतार विश्वकपको अन्तिम चरणमा भने छनोट हुन सकेका थिएनन्।
उनको क्लब बार्सिलोना एससीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै परिवारप्रति समवेदना जनाएको छ र घटनाको निष्पक्ष छानबिन तथा न्यायको माग गरेको छ। पिनिडाको मृत्युको पुष्टि इक्वेडरको गृह मन्त्रालयले गरेको छ। मन्त्रालयका अनुसार घटनाबारे विशेष प्रहरी एकाइ परिचालन गरी विस्तृत अनुसन्धान सुरु गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले पिनिडामाथि आक्रमण गरेका थिए। घटनामा अन्य व्यक्तिहरू पनि घाइते भएको जनाइए तापनि थप विवरण सार्वजनिक गरिएको छैन।
पछिल्ला वर्षहरूमा इक्वेडर, विशेषगरी ग्वायाकिल, गिरोह हिंसाको केन्द्र बन्दै गएको छ। यसअघि पनि थुप्रै फुटबल खेलाडीहरू आक्रमणको शिकार भएका थिए। एक समय सुरक्षित मानिने इक्वेडर अहिले लागुऔषध तस्करीसँग जोडिएको गम्भीर सुरक्षा संकटको सामना गरिरहेको छ।



