काठमाडौं :- प्रहरीले नाबालिग बलात्कारको अभियोगमा एमाले नेता शिवशंकर साह (हिरा)लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरी मंगलबार राति धनुषा ल्याइएको हो।
प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साह फरार भएका थिए। पछि, प्रहरीले भारतीय काउन्टरपार्टसँग समन्वय गर्दै सीतामढीबाट उनलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, नाबालिगका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ। महासेठले घटनालाई कानूनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाट रकमसमेत लिएको आरोप छ।
प्रहरीका अनुसार, गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो। सो घटनामा संलग्न अन्य अभियुक्त, जनकपुरधाम उपमहानगरपालिका–१० का स्वर्गीय किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइसकिएको छ। मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन्।
प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ। केही राजनीतिक दबाब आएपनि प्रहरीले जघन्य अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ।




