काठमाडौँ :- पछिल्लो छ दिन निरन्तर घटेको पुँजी बजारमा आज सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३९ अंकले वृद्धि भएर २,६१४.०७ को बिन्दुमा पुगेको छ। आज ३३१ कम्पनीका ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद-बिक्री भए, जसको कारोबार रकम रु ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ पुगेको छ।
आजको कारोबारमा बैंकिङ, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूहको उपसूचकमा केही गिरावट देखिएको छ। बैंकिङ शून्य दशमलव १२%, लघुवित्त शून्य दशमलव ०६%, निर्जीवन बीमा शून्य दशमलव १७% र व्यापार समूह शून्य दशमलव ०१% ले घटेको छ।
तर, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहका उपसूचकमा वृद्धि देखिएको छ। विकास बैंक शून्य दशमलव ३१%, वित्त शून्य दशमलव ४०%, होटल तथा पर्यटन शून्य दशमलव ८८%, जलविद्युत् शून्य दशमलव ८४%, लगानी शून्य दशमलव १६% र जीवन बीमा शून्य दशमलव ८२% बढेका छन्।
उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूहका उपसूचक पनि वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन शून्य दशमलव ५३%, म्युचुअल फण्ड शून्य दशमलव ३७% र अन्य समूह शून्य दशमलव ३४% ले बढेका छन्। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जबकि हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा ३.८८%को गिरावट आएको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा बढी कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ, जसमा रु ३१ करोड ९२ लाख ६ हजार ७१३ बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ।




