धनुषा :- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।
विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टीभित्र विभाजनको प्रभाव बढ्ने आकलन गर्दै अहिलेका लागि तीन सदस्यीय सरकारबाटै काम अघि बढाइने भएको हो ।
सत्ता साझेदार दलहरूबिच मन्त्रालयको भागबन्डाबारे सैद्धान्तिक सहमति भइसके पनि दलहरूले आफ्ना मन्त्रीको नाम अन्तिम टुङ्गोमा नपुर्याएका कारण विस्तार स्थगित गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै दुई जना मन्त्रीलाई शपथ दिलाउनु भएको थियो । तर, उहाँहरूलाई अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । हाल सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोनलकै काँधमा छ ।
सत्ता गठबन्धनमा सात दल सहभागी रहेका छन् । जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका , लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका एक–एक जना सांसद छन् । स्रोतका अनुसार जसपा नेपालले चार वटा मन्त्रालय पाउनेछ । जनमत पार्टीले तीन, माओवादी केन्द्रले दुई र लोसपा तथा समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने सहमति भएको छ । जसपा नेपालले आफ्ना मन्त्रीहरूको नाम लगभग टुङ्गोमा पुर्याएको छ । रामअशिष यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मनिष सुमनलाई शिक्षा तथा संस्कृति मन्त्रालय र राजु गुप्तालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बताइन्छ ।
चौथो मन्त्रालयमा रौतहट वा बाराबाट एक जनालाई प्रतिनिधित्व गराउने सम्भावना रहेको जसपा स्रोतको भनाइ छ ।
माओवादी केन्द्रले नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ भने जनमत पार्टीले बाँकी दुई मन्त्रालयमा पुरानै अनुहार दोहोर्याउने सम्भावना रहेको बताइन्छ । लोसपा नेपालले रानी शर्मालाई पुनः मन्त्री बनाउने तयारी गरेको छ ।
मुख्यमन्त्री सोनलले विश्वासको मत कार्तिक २२ गते शनिवार लिन लाग्नु भएको छ ।
गठबन्धनका नेताहरूका अनुसार विश्वासको मत प्राप्त गरे लगत्तै २३ गते आइतबार मन्त्रिपरिषद् विस्तार गरिनेछ ।।



