काठमाडौँ :- मतदाता नामावली संकलनको म्याद आज सकिँदै छ। निर्वाचन आयोगले अनलाइनमार्फत पनि फारम भर्न सकिने व्यवस्था गरेको र हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता थपिएको जनाएको छ।
यसैगरी, आयोगमा हिजोसम्म ३३ राजनीतिक दलले आगामी निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि निवेदन दिएका छन्।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २० गते प्रारम्भिक नामावली प्रकाशन हुनेछ। नामावलीमा त्रुटि देखिएमा मंसिर २१ देखि २७ गतेसम्म सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालय तथा अनलाइनमार्फतै पनि सच्याउन निवेदन दिन सकिने छ।
यदि कसैले झुट्टा विवरण दिएर नाम समावेश गराएको छ भने त्यसको विरोध गर्न, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेको भए हटाई एक स्थानमा कायम गर्न, तथा मृत्यु वा नागरिकता त्याग गरिसकेका व्यक्तिको नाम हटाउन पनि निवेदन दिन सकिने आयोगले जनाएको छ। अन्तिम नामावली जाँचबुझपछि आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ।



