काठमाडौँ :- स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि फेरि प्रभावित भएको छ।
नुवाकोटको ककनी र धादिङको धुनबेँसीस्थित ल्याण्डफिल साइटका बासिन्दाले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै अवरोध गरेपछि उपत्यकाबाट गइसकेका फोहर बोक्ने गाडी काठमाडौँमै फर्काइएका हुन्।
स्थानीयहरूले फोहर वैज्ञानिक तथा व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्ने र विगतका सहमतिहरू पालना हुनुपर्ने भन्दै गत कात्तिक दोस्रो सातादेखि अनिश्चितकालीन अवरोध घोषणा गरेका थिए।
अवरोध खुलाउन सहरी विकासमन्त्री कुलमान घिसिङ कात्तिक १६ गते स्थलमै पुगे पनि उनले दिएका मौखिक प्रतिबद्धता १५ दिनभित्र कार्यान्वयन नहुँदा आजदेखि फेरि कडा अवरोध गरिएको धुनबेँसी–१ का स्थानीय निराञ्जन सञ्जेलले बताए।
उनका अनुसार २०७९ जेठ २६ मा काठमाडौँ महानगरसँग भएको १८ बुँदे सहमति कार्यान्वयनको प्रगति ‘शून्य’ रहँदा स्थानीयले अब लिखित प्रतिबद्धतासहित कार्य सुरु गर्नुपर्ने माग राखेका छन्।
सहमतिमा फोहर राति मात्र विसर्जन गर्ने, दुर्गन्ध नियन्त्रण गर्ने, लिच्चड व्यवस्थापन गर्ने तथा वैज्ञानिक रूपमा स्थल व्यवस्थापन गर्नेजस्ता बुँदाहरू समेटिएका छन्।
सहमति नपालिँदा फोहरको दुर्गन्ध र सरुवाजन्य रोग जोखिम बढेको भन्दै ककनी गाउँपालिका–१, २, ३ र धुनबेँसी नगरपालिका–१, ३ का प्रभावित स्थानीय सयौँको समूहमा सडकमा बसेर ल्याण्डफिल साइटतर्फ जान लागेका गाडीलाई प्रवेश गर्न दिइरहेका छैनन्। उनीहरू मन्त्रीस्तरीय लिखित प्रतिबद्धता र जिम्मेवार अधिकारी प्रत्यक्ष रूपमा क्षेत्रमै आएर समाधान प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।
स्थानीयको आन्दोलनलाई ककनी, बेलकोटगढी र धुनबेँसीका जनप्रतिनिधि तथा विभिन्न दलका स्थानीय नेताहरूले पनि समर्थन जनाएका छन्।



