काठमाडौँ :- आज नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। हिजो (सोमबार) ५०० रुपैयाँले सस्तो भएको सुन आज फेरि ३ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन ३,८०० रुपैयाँले घटेर २ लाख ३९ हजार ५ सय रुपैयाँमा कायम भएको छ। सोमबार यसको मूल्य २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो।
सुनको मूल्यसँगै चाँदी पनि सस्तो भएको छ। आज एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ३ हजार १ सय ५५ रुपैयाँ रहेको थियो।



