काठमाडौँ :- गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटनाग्रस्त हुँदा ३३ जना घाइते भएका छन्।
भरतपुरस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको हो।
घाइतेमध्ये १५ जना चितवन मेडिकल कलेजमा, १३ जना नेशनल सिटी अस्पतालमा र ५ जना भरतपुर अस्पतालमा उपचाररत छन्। तीमध्ये ८ जनाको अवस्था मध्यम र २५ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
दुई बस चालकमध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।



