काठमाडौँ :- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै पार्टीमा पुस्तान्तरण र रुपान्तरण आवश्यक रहेको बताउनुभएको छ। आज सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा उहाँले पार्टीमा यी परिवर्तन भएमा मात्र निर्वाचनमा बहुमत हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
पौडेलले मुलुकमा भएका जेनजी आन्दोलनलाई शङ्का वा खल्तीको रूपमा नहेरी त्यसले उठाएका मुद्दा—भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा रोजगारी—सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार युवाद्वारा उठाइएको विद्रोहको अर्थ पूर्ण प्रजातान्त्रिक अभ्यासमा असफलता, भ्रष्टाचार र जनताप्रति उत्तरदायित्व नबुझ्नु हो, र यसलाई मुलुकको हितमा बुझ्नु आवश्यक छ।
पौडेलले पार्टी नेतृत्वमा युवाको सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस’ गठन गर्ने अवधारणा प्रस्तुत गर्नुभयो। यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्नेछ। उहाँले वडादेखि केन्द्रसम्म नेतृत्व छनोटमा युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि गर्नुभयो।
नेता पौडेलले विश्वका विभिन्न देशमा भएका युवा विद्रोहको सन्देश सुदृढ लोकतन्त्र भएको भन्दै जेनजी आन्दोलनबाट नेपाली कांग्रेसले लाभ उठाउन सक्ने बताउनुभयो। त्यसका लागि पार्टीले कमजोरीको निर्मम समीक्षा गरी सुधारको व्यावहारिक मार्ग अपनाउनुपर्ने उहाँको विचार छ। यसैगरी, युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि उहाँले गर्नुभयो।
पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाको प्रशंसा गर्दै सभापति शेरबहादुर देउवाप्रति भएको आक्रमणको निन्दा गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा मन्त्री रहँदा गरेका सुधार र स्वास्थ्य समाजवादको सम्भाव्यतालाई पनि अघि सार्नुभयो।
सङ्घ, प्रदेश र स्थानीय सरकार खर्चिलो भएकाले नागरिक असन्तुष्टि बढेको बताउँदै पौडेलले प्रतिनिधिसभा सदस्य २०१ र मन्त्रिमण्डल १५ सदस्यसम्म सीमित गर्ने प्रस्ताव गर्नुभयो। प्रदेशसभाको आकार ४०% घटाउने र मन्त्रिमण्डल ५ सदस्यीय बनाउने सुझाव पनि उहाँले दिनुभयो। स्थानीय तहलाई ४०० इकाईमा सीमित गरेर खर्च कटौती र प्रभावकारी सेवा सुनिश्चित गर्नुपर्ने, र जिल्ला समन्वय समितिलाई खारेज गर्नुपर्ने उहाँको प्रस्ताव हो।
पौडेलले महाधिवेशनको मिति कुनै बहानामा नसराउनुपर्ने र तत्काल १५औँ महाधिवेशन गरेर ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। यसले नवयुवाको प्रवेश बढाउने र देशका समस्याहरू समाधान गर्ने सामर्थ्य प्रदान गर्ने उहाँको धारणा छ।


