काभ्रे :- विभिन्न डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल मार्फत प्रचण्डको घर जल्नु अगिनै प्रचण्डले घरबाट दुई ट्रक पैसा निकालेको भनेर झुटो प्रचार गर्ने पुर्ब प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदी र अधिबक्ता बालकृष्ण न्यौपानेलाइ योङ कम्युनिष्ट लिग नेपाल र अनेरास्ववियु (क्रान्तिकारी), काभ्रे जिल्ला समितिले आज संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक मार्फत गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएर सो प्रवृत्तिको तुरुन्त अनुसन्धान र आवश्यक कारबाहीको माग गरेका छन्।
केही व्यक्तिहरू र प्रवृत्तिहरूले आन्दोलनका वास्तविक मागलाई विकृत गरी समाजमा भ्रम र हिंसा फैलाउने प्रयत्न गरिरहेको उल्लेख गरिएको छ। विशेषगरी ‘प्रचण्ड को घर जल्नु अगि पैसा निकालिएको’ जस्ता नक्कली समाचार तथा तस्विर र डिजिटल सामग्री प्रशस्त मात्रामा प्रचार गरी आम जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको र यसले विद्यार्थी तथा युवाहरूमा नकारात्मक प्रभाव परेको पत्रमा भनिएको छ। संयुक्तरुपमा पेश गरिएको ज्ञापनपत्रले यस्ता प्रवृत्तिलाई साइबर अपराधको दायरामा पर्ने गरेर कानुनी रूपमा अनुसन्धान गरी दोषीविरुद्ध कारबाही गर्न सरकारसमक्ष माग गरेको छ।
ज्ञापनपत्रमा भनिएको छ लक्षित प्रचार–प्रसारले पार्टी, संगठन र नेतृत्वविरुद्ध राजनीतिक प्रतिशोधका रूपमा चरित्र हत्या गर्ने उद्देश्य राखेको छ र यसले सामाजिक शान्ति र विश्वासमा प्रतिकूल प्रभाव पारिरहेको छ। त्यसैले सम्बन्धित निकायले तथ्यपूर्ण अनुसन्धान गरी दोषप्रमाणित भए कानूनी दायरामा सात्त्विक कारबाही गर्ने व्यवस्था गर्नुपर्ने पत्रमा जोड दिइएको छ। साथै, यस्ता अनथक र अन्यायपूर्ण गतिविधि तुरुन्त नरोकिए संयुक्तरुपमा आन्दोलन र प्रतिरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि ज्ञापनपत्रमा समावेश गरिएको छ।
ज्ञापनपत्रमा प्रमुख मागहरूमा तथ्यविहीन प्रचार गर्ने व्यक्तिहरूका बिरुद्ध छानबिन गरी आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने, संगठन र नेताहरूविरुद्ध दुष्प्रचार रोक्न सरकार र सम्बन्धित निकायलाई निर्देशन दिने र अन्यायकारी गतिविधि जारी भए थप संयुक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।


