धनकुटा :- धनकुटामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस बुधबार धनकुटा नगरपालिका–३ निगालेमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनास्थलमै एक महिलाको मृत्यु भएको छ। उनको अनुहार र शरीरमा मबिल लागेको कारण पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिनुभयो। गम्भीर घाइते एक जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ भने उनको पनि पहिचान खुल्न बाँकी छ।
बसमा रहेका अन्य सात जना यात्रु घाइते भएका छन्, जसको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उकालोमा बसको टायर पड्किँदा दुर्घटना भएको बताइए पनि वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




