काठमाडौँ :- सुनको मूल्य निरन्तर नयाँ रेकर्ड तोड्दै बुधबार पनि बढेको छ। आज तोलामा ४ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ४८ हजार ५ सय रुपैयाँ थियो।
शुक्रबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यले पाँच दिनमै करिब १३ हजार रुपैयाँले उक्लिएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
सुनको मूल्य वृद्धि पछिल्लो समयमा विश्व बजारमा देखिएको उच्च मागसँग जोडिएको छ। विश्वभरका ठूला लगानीकर्ताले सुरक्षित लगानीका रूपमा सुनमा रुचि बढाएका छन्। दिपावलीको तयारीसँगै नेपाल र भारतमा खुद्रा माग पनि बढ्दै गएको छ। त्यस्तै, विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनलाई भण्डारमा राख्ने नीति अपनाउँदै आएकाले यसको मूल्य निरन्तर उकालो लागिरहेको छ।


