काठमाडौँ :- असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार हिजो (शुक्रबार) दिउँसोसम्म राजमार्गका सबै अवरुद्ध स्थानमा अस्थायी ट्रयाक निर्माण कार्य सम्पन्न भई सवारीसाधन आवागमन सुरु भएको हो।
उनका अनुसार काभ्रे र सिन्धुलीका विभिन्न १३ स्थानमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
बाढीपहिरोले सबैभन्दा बढी क्षति काभ्रेको चौकीडाँडामा पुर्याएको थियो। त्यस्तै, काभ्रेकै कटुन्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो) क्षेत्रमा पनि सडक क्षति पुगेको थियो।
सिन्धुली पक्षमा बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) क्षेत्रमा सडक क्षति पुगेको जिल्ला प्रशासनले जनाएको छ।
राजमार्ग सञ्चालनमा आए पनि विभिन्न स्थानमा रोलिङ र ग्रेडिङ मिलाउने काम जारी रहेकाले यातायात केही असहज हुने सडक विभागले जानकारी दिएको छ।




