काभ्रेपलाञ्चोक :- गत साताको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्गका विभिन्न खण्डमा अस्थायी सडक (डाइभर्सन) निर्माण गरी शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी भइरहेको छ। हाल काभ्रेपलाञ्चोक खण्डमा खोला फर्काएर अस्थायी मार्ग बनाउन तीव्र गतिमा काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो।
उनका अनुसार नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोलिसकिएको छ। आज दिउँसोसम्म बाँकी क्षतिग्रस्त भागमा पनि ट्रयाक खोल्ने लक्ष्य राखिएको छ।
“ट्रयाक पूरा भएपछि सडकको अवस्था परीक्षण गरेर शनिबार बिहानदेखि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ,” योगेशले भन्नुभयो।
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेपछि मंगलबारदेखि डाइभर्सन निर्माण सुरु गरिएको हो। बिहीबार दिउँसोदेखि रातिसम्म दुई दर्जन मेसिन परिचालन गरी अस्थायी सडक निर्माण भइरहेको छ।
योगेशका अनुसार सबै ट्रयाक खुलेपछि घुम्ती र साँघुरा स्थानमा थप मर्मतको काम गरिनेछ। हाल रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण कार्य जारी छ।
बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्याएको थियो। गत वर्ष पनि यही क्षेत्रमा बाढीपहिरोका कारण अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो।
बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त खण्डहरूको स्थलगत अवलोकन गरी छिटोभन्दा छिटो सवारी सञ्चालनका लागि डाइभर्सन निर्माण कार्यलाई तीव्र पार्न निर्देशन दिनुभयो। उहाँले रातिसम्ममा पनि काम अघि बढाई शुक्रबारभित्र सडक खुलाउने तयारी गर्न आदेश दिनुभएको थियो।
डिभिजन सडक कार्यालयले स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामा अघि बढाइरहेको जनाएको छ। पूर्वी नेपाललाई जोड्ने छोटो र व्यस्त मार्गका रूपमा बिपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छन्।




