काठमाडौँ :- जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका बन्दीमध्ये अझै करिब पाँच हजार सात सय जना फरार रहेका छन्। जेनजी प्रदर्शन तीव्र बनेपछि मुलुकभरका २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कूल १४ हजार ५५३ बन्दी फरार भएका थिए।
तीमध्ये आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कुल आठ हजार ८५१ बन्दी कारागारमा फर्किसकेका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी, अर्थात् जम्मा पाँच हजार ६९७ बन्दी हालसम्म फरार रहेका छन्।
फरार बन्दीहरूलाई यही असोज १० गतेसम्म स्वेच्छाले कारागार फर्कन गृह मन्त्रालयले अन्तिम समयसीमा (अल्टिमेटम) दिएको थियो। तर, ठूलो सङ्ख्यामा कैदीबन्दी अझै नफर्केपछि सरकारले विशेष अभियान सञ्चालन गरेको छ। सुरक्षाकर्मीहरूलाई फरार कैदीबन्दी खोजी गरी नियन्त्रणमा लिई सम्बन्धित कारागारमा बुझाउने जिम्मेवारी दिइएको छ। सरकारका अनुसार फरार कैदीबन्दीका कारण समाजमा सुरक्षा जोखिम बढेकाले निगरानी र कारबाही दुवै कडा पारिएको छ।




