काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले बनाएको सिस्टमलाई स्विकारेर जान उम्मेदवारका आकांक्षीहरूलाई सुझाव दिएका छन् ।
आज पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि रविलाई भेट्न उम्मेदवारका ९ जना आकांक्षीहरू ललितपुरस्थित नख्खु कारागार गएका थिए ।
सामूहिक रूपमा भेट्न खोजेका उनीहरूले प्रशासनले एक पटकमा दुई दुई जनालाई मात्र भेट्ने अनुमति दिएका थिए । रविलाई भेटेर बाहिरिएका आकांक्षी पाथिवेन्द्र उपाध्याय र सुलभ खरेलले पार्टीले बनाएको सिस्टमलाई मानेर जान सुझाव दिएको बताए ।
उनीहरूले भने, ‘रविजीले तपाईंहरु सबै जना क्षमतावान हुनुहुन्छ । पार्टीले उम्मेदवार छनोट पद्धति बनाएको छ । त्यसलाई फलो गरेर जानोस् । सिस्टमबाट ९ जनामध्ये जो निर्वाचित भए पनि उम्मेदवारलाई निर्वाचनमा पूर्ण सहयोग गर्नोस् । तपाईंहरु उपनिर्वाचन मात्र होइन, २०८४ सम्मै मिलेर जानोस् । त्यतिबेलासम्म सबैको व्यवस्था हुँदै जान्छ भन्नुभयो’, ।




