बागलुङ :- नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा २,१२० घरधुरीमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ।
जिल्ला सदरमुकाम आसपास क्षेत्रमा विद्युत् विस्तार भइसकेकाले हाल पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको शाखा प्रमुख पवन पौडेलले जानकारी दिए।
गत एक वर्षमा दुई हजारभन्दा बढी घरमा केन्द्रीय लाइन विस्तारसँगै ३७ हजार ४१६ नयाँ ग्राहक थपिएका छन्। पौडेलका अनुसार करिब रु १५ करोड ९२ लाख लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी प्रसारण लाइन निर्माण गरिएको छ। यस अवधिमा ३७ स्थानमा ट्रान्सफर्मर पनि जडान गरिएको छ।
हालसम्म जिल्लाका ८५ प्रतिशत घरमा विद्युत् पुगेको छ। तर तीमध्ये २९.९ प्रतिशत घरधुरीले अझै पनि लघुजलविद्युत्को प्रयोग गरिरहेका छन्।




