धादिङ :- गए राति परेको भारी वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात ठप्प भएको छ। बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. १०, तिकराङ्ग खानीस्थित बाँदरे मोडमा खसेको पहिरोले दुबै दिशाको सवारी साधन अवरुद्ध भएको छ।
पहिरोका कारण राजमार्ग भएर राजधानी प्रवेश गर्न आएका रात्री बस, मालवाहक सावरीसहित राजधानीबाट तराईका विभिन्न क्षेत्रतर्फ जाने सवारी साधनहरूको लामो जाम लागेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार पहिरो पन्छाउन दुईवटा मेसिन परिचालन गरिएको छ। पहिरो ठूलो भएकाले सडक खुलाउन दुईदेखि तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ।




