सल्यान :- सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
आज दिउँसो लु १ ज २३६८ नम्बरको जीप रेसमज्युला नजिकैको ग्रामीण सडकमा अनियन्त्रित भई सडकदेखि करिब पाँच मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनाग्रस्त जीपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन्। उनीहरू सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जीप चालक शारदा नगरपालिका–६ निवासी २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।




