काभ्रे :- केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण तथा प्रभावितको उपचारका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले अनुसार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
गृहमन्त्री लेखकले हैजा नियन्त्रणमा खटिने टोलीलाई आवश्यक व्यवस्थापन मिलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडी र सुरक्षा निकायका प्रमुखहरू सहभागी बैठकमा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थामाथि पनि समीक्षा गरिएको थियो ।
यससँगै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणबारे विशेष छलफल भएको छ । मन्त्री पौडेलले स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार सुनिश्चित गरिने तथा सरकारी र निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।




