चितवन, ०६ भदौ । साउन १४ गते आएको बाढीले अवरुद्ध भएको रसुवाको त्रिदेशीय मार्ग सडक सञ्चालनमा आएको छ।
गल्छी–त्रिशूली–मैலुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डअन्तर्गत उत्तर गया गाउँपालिका–५ को सातबिसेमा त्रिशूली नदीले सडक कटान गर्दा मार्ग बन्द भएको थियो।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सडक डिभिजन कार्यालय, विभिन्न जलविद्युत आयोजना र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि सडक सञ्चालनमा आएको हो।
स्थानिय रामबाबु पौडेलका अनुसार नौबिसे पेट्रोल पम्प नजिक करिब १०० मिटर पक्की सडक बाढीले बगाउँदा पेट्रोल पम्प, बस्ती र सयौँ रोपनी खेत जोखिममा परेका थिए।
सडक पुनः सञ्चालनमा ल्याउन माथिल्लो त्रिशूली–१ आयोजनाले स्काभेटर, क्रेन र प्राविधिक सहयोग उपलब्ध गराएको थियो। उत्तर गया गाउँपालिकाले कामदार र टिपरको व्यवस्था गर्यो भने गल्छी–त्रिशूली–सैलुङ–स्याफ्रुबेसी सडक आयोजनाले प्राविधिक सुपरिवेक्षण र उपकरण उपलब्ध गराएको थियो।
यस्तै, माथिल्लो त्रिशूली थ्री बी जलविद्युत परियोजनाले लोडर उपलब्ध गराएर माटो–ढुङ्गा व्यवस्थापनमा सहयोग गरेको थियो। लगातार २२ दिनको प्रयासपछि सडक फेरि सुचारु गरिएको हो।




