काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–५ द्वार भन्ज्याङमा १३ वर्षीय निसान थापा मृत फेला परेका छन्। उनी आफ्नै घरको बाकसभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
निसान श्री सरस्वती आधारभूत विद्यालय मिनाङ्कोटमा कक्षा ८ मा अध्ययनरत थिए। परीक्षा सकेर घर फर्किएका उनी त्यतिबेला बहिनीसँग घरमै थिए भने उनकी आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्किएपछि छोरालाई घरमा नदेखेकी आमाले खोजतलास गर्दा आँटीमा रहेको बाकसभित्र निसानको शव भेटिएको हो।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली गएराति नै घटनास्थल पुगेको थियो। अहिले उक्त स्थानलाई प्रहरीले सिलबन्दी गरी अनुसन्धान थालेको छ।




