काठमाडौँ :- पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको परवानीपुरबाट गएराति करिब ३१९ किलो चरेस बरामद गरिएको हो ।
परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको हो । बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी बुद्धिबहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ । उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी भनाइ छ ।




