काठमाडौँ :- पर्साबाट श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट आज सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुलकुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्ता रहेका छन् । भारतबाट दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच सो रकम फेला परेको हो ।
बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा सवार तिवारीको साथबाट १३ लाख नेपाली रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा सवार कौशलकुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको हो । उल्लेखित रुपैयाँ के प्रयोजनको लागि ल्याइएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।




