काठमाडौँ । दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा मृत्यु भएको छ ।
सल्यानको बागचौर नगरपालिका–११ बाँफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार गएराति अचेत अवस्थामा फेला परेका थिए ।
प्रहरीले उपचारका लागि उनीहरुलाईतुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पुर्याएकाे थियाे । त्यहाँ उपचार हुन नसकेपछि दुवै जनालाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
घोराहीमा दिपु परियारको मृत्यु भएको हो । दिपाको घोराहीमा पनि उपचार हुन नसकेपछि बिहान बाँकेको नेपालगञ्ज पुर्याइएको थियो । दिपाको पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दिपा र दिपु नाताले दिदी बहिनी हुन् । दिपा दिपुको मामाको छोरी हुन । मृतक दुवै जना कक्षा ११ मा अध्ययनरत थिए । दिपु हिजो दिउँसो मात्रै घोराहीबाट दिपाको कोठामा आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




