काठमाडौं : तिहारपछिको पहिलो कारोबार सेयर बजार प्रभावित भएको छ । सोमबार नेप्से सूचक सामान्य घटेको छ भने खरिदबिक्री रकम पनि केही प्रभावित भएको छ । यस दिन नेप्से सूचक १९.२० अंकले घटेर २८२९.६४ विन्दुमा अडिएको छ । ४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीको भाउ सर्किट लाइनमा पुग्ने गरी वृद्धि भएको छ । लगानीकर्तामा अझै फेस्टिभ मुड जारी रहेकाले पनि कारोबार रकम प्रभावित भएको पनि हो ।
किनभने तिहार लगत्तै छठ पर्व पनि आउँदैछ । तथापि, समग्रमा बजार माथितिरै जाने प्रयास गरिरहेको छ । तर अल्पकालीन कारोबारीहरुले बेच्नेक्रममा अलिबढी तीब्रता दिएपछि नेप्से केही प्रभावित भएको हो । तिहारअघि किनेको सेयरमा नाफा बुक गर्ने प्रवृत्ति देखिएकाले पनि बजार थोरै प्रभािवत भएको अनुमान गरिएको छ ।
यता, प्राविधिक विश्लेषकहरुले पनि २८५० आसपासको लाइनलाई विशेष ध्यान दिंदै आएका छन् । सोही आधारमा उनीहरुले खदिरबिक्री रणनीति बनाइरहेको केही प्राविधिक विश्लेषकहरुको भनाई छ । बजार सीधा र एउटै रेखामा हिँड्दैन । तलमाथि हुँदै अघि बढ्ने हो । तेजसँग बढ्नका लागि पनि केही करेक्सन हुने गर्छ । यसर्थ, बजारको यही गति र प्रवृत्तिलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्ने विश्लेषकहरु बताउँछन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्ने समय नजिकिएको छ । सर्वसाधारण लगानीकर्तालाई यसलाई पनि विशेष ध्यान दिइरहेका छन् । नीति बजारमैत्री आउन सक्यो भने त्यसले सकारात्मक प्रभाव पार्न सक्नेछ । यसअघि सेयर धितो कर्जामा ४–१२ करोड सीमाको नीति लिएको केन्द्रीय बैंकले त्यसलाई सच्याउने अपेक्षाहरु भइरहेका छन् । यस्तै, तरलता सहज बनाउने मौद्रिक उपकरण पनि आउन सक्ने विश्वास गरिएको छ ।
सेयर बजारका लगानीकर्ताहरुले आफ्रनै हिसाबले रणनीति तय गर्न आवश्यक हुन्छ । कहिले किन्ने अनि कहिले बेच्ने, कुन सेयर कति मूल्यमा किनबेच गर्ने भन्ने विषय नितान्त व्यक्तिगत विषय हुने भएकाले यसमा स्वतन्त्रपूर्वक निर्णय लिन आवश्यक हुन्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ । लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ख्याल गर्न भने भुल्नु हुँदैन ।
अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । नाफा औसतमा बढेको देखिएको छ । कम्पनीहरुको लाभांश प्रस्ताव गर्नेक्रम पनि जारी छ । कतिपयले बुक क्लोज मिति तय गरी साधारण सभा पनि बोलाउन थालेका छन् ।




