काठमाडौं:- नेकपा माओवादीका एक कार्यकर्ताले आफूलाई झुक्क्याएर नेकपा एमालेको वडा अधिवेशनमा वडा अध्यक्षमा मनोनयन गरेको भन्दै आपत्ति प्रकट गरेका छन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ का रुद्र सापकोटालाई सिन्धु एमालेले वडा अध्यक्षमा चयन गरेको थियो।
वडा ४ को वडाध्यक्षमा चयन गरेपछि सापकोटाले एव विज्ञप्ति जारी गरेर आफूलाई झुक्क्याएर वडाध्यक्ष बनाएको आरोप लगाएका छन्। आफूलाई छलफलका छ भनी बोलाएर वडाध्यक्षमा मनोनयन गरेको उनले बताएका छन्। सापकोटाले एमालेप्रति आफ्नो कुनै आस्था र विश्वास नरहेको पनि प्रस्ट पारेका छन्। उनले आफूले हालै नवीकरण गरेको माओवादीको सदस्यता समेत सार्वजनिक गरेका छन्।
‘तपाईसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु। साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरि सकेकोले सम्पूर्ण वडावासीमा जानकारी गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।



